काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन्।
फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने चेतावनी मेयर साहले दिएका हुन्।
‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेखेका छन्।
जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने उनले भनेका छन्।
‘को(को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन,’ उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।
मेयरको सचिवालयको अनुसार बन्चरेडाँडामा फोहोर बोकेर जाने गाडीमा अवरोध भएपछि फोहोर बोकेका गाडी कोटेश्वर क्षेत्रमा पार्किङ गरिएको थियो। तर ट्राफिक प्रहरीले ती गाडीका चालकहरूलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ।














