मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै



काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघकोे महासभाको बैठक निर्णय नम्बर ५५ र २०१ ले थप अंगीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

यस वर्ष राष्ट्रसंघले विश्वभरका राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप जुझारु हुँदै जैविक विविधता योजनाको हिस्सा बन्न आग्रह गर्ने खालको नारा तय गरेको छ । जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले ‘योजनाको हिस्सा बन्नुहोस्’ भन्ने नारा तय गरेको छ ।

नेपालमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिएको छ । नेपाल जैविक विविधताको हिसावले एसियामा ११ औँ र विश्वमा २५ औँ स्थानमा पर्दछ ।

जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले नेपालको अलग्गै पहिचान छ । नेपालमा हालसम्म २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा सूचीकृत छन् ।

यस्तै, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उड्ने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र ३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नेपालमा ३२ वटा रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १० : २६ बजे