काठमाडौं, जेठ १४। सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।
यसअघि आइतबार बिहान ९ बजे बस्ने तय भएको बैठक आजका लागि सारिएको हो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्न लागेको हो ।
सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग, ठगी छानबिन गर्न प्रमुख दलहरूबीच संसदीय समिति बनाउने सैद्धान्तिम सहमति बनेपनि क्षेत्राधिकारमा कुरामा भने सहमति हुन सकेको छैन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा रकम गएकाले त्यो संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नाम क्षेत्राधिकारमा तोक्नुपर्ने अडान राख्दै आएको छ।














