काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा साम्सद प्रदीप पौडेलले संसद्मा दुई वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
पौडेललेअतिक्रमण भएका सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्यु गर्नु पर्ने सम्बन्धमा गरी दुई वटा प्रस्ताव दर्ता गराएका हुन् ।
दुई वटै प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र सपना राज भण्डारीको समर्थन रहेको छ ।
उनले सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन प्रस्तावमा शक्ति र पहुँचको दुरुपयोग गर्दै हुने सार्वजनिक जग्गाको अतिक्रमण रोक्न र विगतमा अतिक्रमित भएका सार्वजनिक जग्गालाई नेपाल सरकारको मातहतमा ल्याउन प्रस्ताव गरेका छन् ।
तेस्तै विश्वविद्यालय, मठ मन्दिर तथा अन्य विभिन्न क्षेत्रका बहुमूल्य जग्गा पँहुच र आग्रह–पूर्वाग्रहका आधारमा मिलेमतो गरी विभिन्न व्यक्ति, संघ संस्था तथा निजी कम्पनीलाई सस्तोमा तथा निशुल्क भाडामा वा लिजमा दिइएको भन्दै तेस्तो कार्य रोक्ने गरि दरिलो कानुनी ब्यबस्थाको प्रस्ताब गरेका छन् ।
विशेष गरी काठमाडौँ उपत्यका लगायत मुख्य सहरी क्षेत्रमा अपचलन भैरहेका जमिन तत्काल मुक्त गराई पार्क, खेल मैदान वा अन्य सामुदायिक उपयोगमा ल्याउन व्यवस्थित कार्ययोजना आवश्यक रहेकोले उक्त प्रस्ताव दर्ता गरिएको सांसद पौडेलले बताएका छन् ।
त्यसैगरी हालसम्म नेपाल सरकारले सार्वजनिक जग्गाको खोज तथा व्यवस्थापन गर्न बनाएका विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक गर्न र सार्वजनिक भएका प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न उनले प्रस्तावमा राखेका छन् ।
पौडेलले अन्तरनिकायहरूबीचमा अनिवार्य सहकार्यको प्रस्ताव समेत दर्ता गराउदै तिनै तहका सरकार एवं राज्यका अन्तरनिकायहरूबीचमा समन्वय गरेर मात्र विकास गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
काठमाडौँ उपत्यकाका लगायत मुख्य सहरी क्षेत्रमा सडक निमार्णका क्रममा वर्षेनी एउटै सडक बारम्बार भत्काउने र बनाउने कार्यले गर्दा सडकमा हुने धूलो धुवाँ तथा प्रदूषण र वर्षमा हुने हिलोका कारणले सास्ती खेप्नुपरेको छ भने यस्तो प्रदुषणले शहर नै कुरूप बनाएको उनको आरोप छ ।
बस्ती बिचको बाटो बारम्बार भत्काउँदा यातायात असहज हुँदा यस्ता कार्य गर्दा आवश्यक समन्वय गरेर मात्र गर्न उनले सुझाएका छन् ।
कुनै पनि सडक पिच गर्नु पूर्व त्यस ठाउँमा ढल, खानेपानीको पाइप, बिजुलीको तार अन्डरग्राउन्ड गर्ने जस्ता विषय भए, नभएको वा आवश्यक रहेको, नरहेको भनेर यकिन गरेर मात्र काम अघि बढाउन जरुरी छ, पौडेलले भने, आवश्यक समन्वय गरेर मात्र कार्य गर्न र निर्माण भएका सडक बारम्बार भत्काउन नपर्ने गरी सुनिश्चितता गर्न जरुरी छ ।
दिगो विकासमा परिणत गर्नका लागि योजना बनाउँदा दीर्घकालीन लक्ष्य राखेर निर्माण गर्नुपर्ने समेत प्रस्तावमा उल्लेख गरिएको छ ।














