काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताए । कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने उनको भनाइ छ ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद खतिवडाले माग गरे। महिनावारी भएको समयमा महिला प्रहरीलाई बिदा दिने विषय सकारात्मक भए पनि कानुन बनाएर मात्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।
सांसद ईश्वरीदेवी न्यौपानेले संसद् भवनमा आमनागरिकको सहज प्रवेशका लागि व्यवस्था गरिनुपर्ने बताए । सांसदहरु संसद्मा मर्यादित पोसाकमा उपस्थित हुनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले सभामुखमार्फत माग राखे ।














