न्यूरोडमा बालेनले थालेको काम ठिक छ, केन्द्रको हस्तक्षेप ठिक भएन : विश्वप्रकाश शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी भएको भन्दै संघले त्यहाँ कुनै पनि प्रकारको हस्तक्षेप नगरी बालेनलाई काम गर्न दिनुपर्ने बताए ।

उनले भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरुलाई भन्दा हुन्छ नि । उनीहरुले बोल्ने शैली परिवर्तन गर्नु भनेर भन्दा हुन्छ नि । तर आफैं बोल्नुभयो । यो प्रकरणमा म एउटा मात्र कुरा भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिनुपर्छ । संघले त्यहाँ कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’

प्रधानमन्त्रीको उचाइमा पुगिसकेको नेताहरुले जोसँग पनि जुहारी खेल्न मैदानमा जान नहुने भन्दै यस्तो तरिकाको अभिव्यक्ति पूर्वप्रधानमन्त्रीलाई शोभा नदिने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  १२ : ३९ बजे