काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । मन्त्री शर्माका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल स्पेन, राम राय डेनमार्क, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाललाई फिर्ता बोलाइने भएको हो ।
यस्तै दक्षिण कोरियाका लागि नेपाली राजदूत प्राडा. ज्योति प्याकुरेल भण्डारी, नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई पनि फिर्ता बोलाउने निर्णय सरकारले गरेको छ ।
यी राजदूतहरु अघिल्लो कांग्रेससहितको सत्ता गठबन्धनका बेला नियुक्त भएका थिए । सत्ताको दलीय समीकरण फेरिएसँगै माओवादी, एमाले, रास्वपा र जसपा गठबन्धनले नयाँ नियुक्तिका लागि राजदूत फिर्ता बोलाउने भएको हो ।
तेसतै प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि गर्ने भारतको दुई दिने भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धनले बहुमत पाएको छ । भाजपा नेता मोदीले भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथ ग्रहण गर्दैछन् । आइतबार साँझ हुने उक्त समारोहमा निम्ता मान्न प्रधानमन्त्री दाहाल जाने भएका हुन् ।














