काठमाडौँ, २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्च्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताए । “मुलुकमा उद्यमशीलतालाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयात सहज हुनुपर्ने र करका दर कम हुनुपर्नेमा ध्यान जान सकेन, यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छु । बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि अरु के–के विषय सच्च्याउनुपर्दछ भन्ने सन्दर्भमा पनि कुरा भइरहेको छ”, उनले भने ।
अध्यक्ष ओलीले अब हामी आफैँले पुँजी र प्रविधि विकासका गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए। उनले भने, “हाम्रो पँुजी र प्रविधिले पुगेन भने बाहिरबाट ल्याउनुपर्दछ तर मुख्यतः हामी आफैँले उत्पादन तथा पुँजीको सिर्जना र विकासमा ध्यान दिन आवश्यक छ ।”
उनले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याए पनि फाइदा लिन नसकिएको भन्दै अब रोजगारीका अवसर सिर्जना हुनेगरी लगानीको उपयोग हुन जरुरी रहेको धारणा राखे। देशलाई औद्योगिकीकरण र रोजगारीको अवसर सिर्जना गर्ने खालका लगानी भित्र्याउनुपर्नेमा उनको जोड थियो ।
–––














