गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा बहस सकियो



काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको मुद्दामा क्लिनचिट दिने महान्यायाधीवक्ताको पत्रविरुद्धको मुद्दा सर्वोच्च अदालतमा बहस सकिएको छ।न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइमा बहस सकिएको हो।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रवि विरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी रिट झिकाउने आदेस अधिवक्ता अनुपम भट्टराईले जानकरी दिए ।

अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । पछि इजलासले दर्ता गर्न आदेश गरेसँगै नयाँ रिट दर्ता भएको थियो ।

रिटमा गृहमन्त्री लामिछाने अनुसन्धान गर्ने निकायको नेतृत्व गरिरहेको र उनी नेतृत्वमा रहँदासम्म सहकारी ठगीमा अनुसन्धान हुन नसक्ने भएकाले निलम्बन हुनुपर्ने माग गरिएको हो । लामिछाने विरुद्ध कास्की प्रहरीमा उजुरी विचाराधीन रहेको र अन्य जिल्लामा पेश भएको अभियोग पत्रमा समेत उनको नाम रहेको जिकिर रिटमा गरिएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  २ : ३० बजे