मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो वर्ष आइटी निर्यातले एक खर्ब नाघ्छ : अर्थमन्त्री पुन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आईटी) क्षेत्रमा विश्वमा उदाइरहेको आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई सरकारले खुला रुपले स्वीकारेर प्रयोगको वातावरण बनाउन तयार रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित पहिलो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन –२०२४ को उद्घाटन गर्दै मन्त्री पुनले नेपालको सूचना प्रविधि क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने राम्रा र महत्वपूर्ण आधारहरु रहेको उल्लेख गर्दै सरकारले यो क्षेत्रको विकास र विस्तारलाई जोड दिएको बताए ।

मन्त्री पुनले भने, ‘गएको वर्ष ६६ अर्बको आईटी क्षेत्रले सेवा निर्यात गरेको छ, यो वर्ष त्यो सेवा १ खर्ब नाघ्ने अनुमान छ । यो क्षेत्र हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र हो । हामी कृषि, पर्यटन, जलविद्युत र उद्योगका केही क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेर भन्ने गर्दथ्यौं । तर, सबभन्दा पछिल्लो क्षेत्र आईटी भएको छ । यसमा हामीले राम्रो प्रतिस्पर्धा गर्न सक्ने आधार भूअवस्थितिले गर्दा देखिएको छ । हामीसँग उत्पादित जनसक्तिले प्रतिस्पर्धा गर्न सक्ने देखाइरहेको छ । सरकारले यसमा विशेष जोड दिएरै प्राथमिकतामा राखेको छ ।’

उनले नेपालको कृषि, पर्यटन, जलविद्युत र उद्योगका केही क्षेत्रसँगै पछिल्लो समय आईटी क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने महत्पूर्ण र राम्रा आधारहरु देखाएको प्रष्ट पारे । मन्त्री पुनले सरकार आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई नीतिगत रुपमा अगाडि बढाउन तयार रहेकोमा जोड दिँदै भने, ‘आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषय छ । यसबारे हुने छलफलबाट सरकारलाई समेत काम लाग्ने उपयोगी नीतिगत प्रतिक्रिया हामीलाई दिनुहुने छ भन्ने विश्वास छ । जसलाई सरकार खुला रुपले स्वीकार गर्न, प्रयोग गर्न र यस क्षत्रको लागि वातावरण बनाउन तयार छ ।’

यस्तै उनले आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई सूचना प्रविधिको विकास र विस्तारसँगै विकासको सहयोगीको रुपमा लिएर यस क्षेत्रसँग नयाँ पुस्तालाई जोड्ने गरी आर्थिक विकासको अवधारणा ल्याउनुपर्नेमा जोड दिए । सूचना प्रविधिलाई विकासँग नजोडे युवा देशमा नबस्ने र विकासले विश्वसँग प्रतिस्पर्धा गर्न नसक्ने ठम्याइँ मन्त्री पुनको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ११ बजे