काठमाडौं । भक्तपुर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाएपछि नगर समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेलले गरेका राम्रा कामको प्रशंसा गर्दै नगरलाई व्यवस्थित गर्न र नगरवासीको सहज र सरल तरिकाले सेवा सुविधा प्राप्त गर्न पाउने अधिकारलाई ध्यानमा राखी केही विषयमा नगरप्रमुखको ध्यानाकर्षण गरेको बताए ।
“राज्यको करोडौँ लगानी गरेर गरिएको कालोपत्रे केही महिनामा ढल बिछ्याउने नाममा भत्काउनु पर्ने भएपछि कसरी विकास मान्ने रु त्यो त नीतिगत भ्रष्टाचार भएन र रु,” उनले प्रश्न गरे ।
ध्यानकषर्णपत्रमा सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्नुपर्ने, प्रत्येक वडामा एक विशेषज्ञ सेवा सहितको ५ शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, नगर क्षेत्रका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार विकासलाई बालमैत्री र अपाङ्गमैत्री बनाइनुपर्ने, सबै विद्यालयहरूमा प्रविधियुक्त शिक्षण विधि लागु गर्नुपर्ने, नगरका आवश्यक स्थानहरूमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने उल्लेख छ ।
खानेपानी समस्या देखिएका क्षेत्रहरूमा तत्काल सफा, स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, नगर क्षेत्रका खानेपानी उपभोक्ता समितिको अनुगमन गरी मूल्याङ्कन गर्ने पद्धति बसाल्नुपर्ने, सूर्यविनायक न पा भित्रको प्राकृतिक श्रोतको पहिचान गरी आत्मनिर्भर हुन वडा नं ८ को सिपाडोलस्थित आशापुरीलगायत क्षेत्रको मूलको पानी सङ्कलन गरी नगरवासीहरूमा यथासम्भव पानी वितरणको व्यवस्थापन गर्नुपर्ने माग काँग्रेसले गरेको छ ।
नगरको समृद्धि र दीर्घकालीन निरन्तर आयस्रोतको सम्भावना बोकेका पर्यटन क्षेत्रको विकासका लागि शिव सर्किट तथा पर्यटन पदमार्गको व्यापक प्रचार प्रसार एवं आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने, लाँकुरी भञ्ज्याङ्देखि साँगा सम्मको क्षेत्रलाई पर्यटन पदमार्ग सँगसँगै पर्यटन क्षेत्रको रूपमा विकास गर्न न्यूनतम पूर्वाधार विकास सहित निजी क्षेत्रको सहभागितामा विभिन्न स्थानहरूमा योग, ध्यान, रिक्रियशन सेन्टरको रूपमा विकास गर्नुपर्ने, वडा नं ४ मा निर्माण भएको भ्यूटावरको सही सदुपयोग गर्न त्यस्ता स्थानहरूलाई निजी क्षेत्र आकर्षित हुने गरी दीर्घकालीन लिज पद्धतिमा जान आवश्यक नीति निर्माण गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यसै गरी स्थानीय कला, संस्कृति, जात्रा, पर्व, मठ मन्दिर, बाजागाजा संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि विशेष ध्यान दिनुपर्ने, नगदेवाली, पुष्पखेती, पशुपक्षी पालन गरिरहेका किसानहरूका लागि उत्प्रेरित गर्ने प्रकृतिको कार्यक्रम कृषिमा युवा वर्गको आकर्षण बढाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने माग पनि काँग्रेसले गरेको छ ।
सम्पूर्ण वडाहरूलाई समेट्ने गरी नगर रुट कायम गरी नगर बस सेवा सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रले जग्गा प्लटिङ गर्दा सार्वजनिक जग्गा अतिक्रमण नहुने व्यवस्था गर्नुपर्ने, सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने, हनुमन्ते लगायत सबै नदी किनारहरूमा जग्गा नक्सा पास गर्दा न्यायपूर्ण मापदण्ड निर्धारण गर्नुपर्ने माग काँग्रेसको छ ।
नगर क्षेत्रभित्र रहेका सामुदायिक, निजी र धार्मिक वन को संरक्षणमा जोड दिनुपर्ने, नगर क्षेत्रका पानीका मुहानहरूको संरक्षण गर्नुपर्ने, राष्ट्रिय प्राणी उद्यान यथाशीघ्र पुरा गर्न सम्बन्धित निकायमा पहल गर्नुपर्ने, गणेशमान बाटिका क्षेत्र आध्यात्मिक तथा पर्याय पर्यटनसँग पनि सम्बन्धित भएका कारण सो क्षेत्रको विकास र संरक्षणमा नगरपालिकाले अपनत्व ग्रहण गर्नुपर्ने, नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधा छिटो, छरितो र प्रविधिमैत्री हुनुपर्ने, उपभोक्ता समिति गठनको सम्बन्धमा व्यापक जनगुनासो रहेकोले सरोकारवाला समूह सम्बन्धित क्षेत्रका उपभोक्ताहरूको व्यापक भेला गरी वास्तविक उपभोक्ताको समिति बनाइनुपर्ने उल्लेख छ ।
करका दर नभई दायरा बढाएर कर, करले होइन रहरले तिर्ने मैत्रीपूर्ण कर प्रशासन नीति लागु गर्नुपर्ने, आगामी ३ वर्षलाई लक्षित गरी नगर भित्रका बुद्धिजीवी, योजनाविद्, समाजसेवी, सम्पूर्ण राजनैतिक दलको व्यापक सहभागितामा बडा तथा नगर गौरवका योजना पहिचान गरी कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय रूपमा बढ्दो सहकारी समस्यालाई समाधान गर्नको लागि कार्य योजना सहितको अनुगमन निरीक्षण गरी बचतकर्ताको बचत रकम संरक्षण, सुरक्षित गर्न आवश्यक प्रबन्ध गर्नुपर्ने, सहकारी सिद्धान्त मर्म र भावना विपरीत कार्य गर्नेलाई कारबाही गर्नुपर्ने माग काँग्रेसले गरेको छ ।
नगरपालिकाले विकास योजना तयार गर्दा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्दै दिगो विकास लक्ष्य समेतलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्ने नीति लिनुपर्ने, विकास योजना कार्यान्वयन गर्दा अधिकतम सहमति न्यूनतम क्षतिको नीति अवलम्बन गर्नुपर्ने, जनप्रतिनिधि जनताका सेवक हुन शासक होइनन् भन्ने मान्यतालाई आम नगरवासीले अनुभव गर्ने गरी व्यवहारमा उतार्नुपर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको काँग्रेस सूर्यविनायक नगर प्रवक्ता रमेश खड्काले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले काँग्रेसले उठाएका कतिपय विषयवस्तु कार्यान्वयन भइरहेको र बाँकी पनि नगरको स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
उनले नगरपालिकाले राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धता भन्ने मूल सिद्धान्त अनुसार नगरपालिकाले कार्य गरिरहेको भन्दै काँग्रेसको ध्यानाकर्षण आफ्नो लागि ऊर्जा भएको बताए । उनले भ्रष्टाचार र अनियमितता आफूले पनि नगर्ने र अन्य जनप्रतिनिधि र कर्मचारीलाई गर्न नदिने प्रतिबद्धता जनाए ।














