नयाँ दलले पुराना दललाई सम्मान गरेनन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलले पुराना दललाई सम्मान नगरेको गुनासो पोखेका छन्। शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन्।

राजनीतिक दल र पार्टीहरु दशकौंको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरेको उनको भनाइ छ।

‘पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो तरु बिल्कुल थिएन,’ उनले थपे, ‘उनीहरूले त पुरानाहरुलाई सम्मान गर्नुपर्ने, तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायौं भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि ’।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गरेका थिए। जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको भन्दै उनले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताए।

‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठीक छैनन्। त्यसकारण नेपालमा बस्नु भन्दा बाहिर नै जानु ठीक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ। सच्चाइ त्यसको ठीक उल्टो छ,’ उनले थपे, ‘अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तीनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो। नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन, आमा बाउलाई, बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ। तीनलाई अपमान गर्ने प्रवृत्ति देखापर्न खोजेको छ, यो प्रतिकात्मक रूपमा मैले भनेको हुँ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १२ : ०९ बजे