मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छुटेका पत्रकारले सदस्यता नपाएसम्म आन्दोलन जारी रहन्छ: शिव लम्साल



काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै नेपाल प्रेस युनियनले देशभर धर्ना तथा तालावन्दीको काम जारी राखेको छ ।

यसै सिलसिलामा युनियन केन्द्र्रीय समितिले सोमबार पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । त्यस्तै देशभरका शाखाहरुमा पनि युनियनकर्मीहरुले धर्ना दिएका छन् ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले महासंघले निर्वाचन प्रक्रियाका लागि भन्दै सदस्यता सार्वजनिक गरेपनि त्यो अमान्य रहेको बताए ।

‘सदस्यता निर्वाचन समितिले सार्वजनिक गरेको छ । त्यसमा जिल्ला र प्रदेशबाट सिफारिस भएको पत्रकारहरुको ठूलो संख्यामा सदस्यता छुटेको छ ।

साथै जिल्ला र प्रदेश नै नचिनेका र नदेखेका केही मान्छेहरुको नाम बाहिरबाट थपिएको छ । त्यसले पत्रकार महासंघको सदस्यता हो भनेर त्यो नामावलीलाई मान्न सक्ने अवस्था छैन्,’ उनले भने,‘हामी महासंघको सदस्यता जिल्ला प्रदेशबाट सिफारिस भएको अथवा केन्द्रीय कार्यालयको आफ्नो स्थायी संरचनाहरुबाट आएका सदस्यहरुलाई कायम गर्नुपर्छ र त्यसले निर्वाचन गर्नुपर्छ भन्ने अडानमा छौं ।’

अध्यक्ष लम्सालले महासंघले बाहिरबाट मान्छे थपेर मतदाता सूची तयार गरेर निर्वाचन गर्ने जुन दुस्साहस गर्यो त्यसका विरुद्ध आफूहरुले आन्दोलन गर्नुपरेको बताए । छुटेका पत्रकारहरुले सदस्यता नपाउने बेलासम्म आन्दोलन जारी रहने उनले बताए ।

उपाध्यक्ष सलोजा दाहालले जिल्ला र प्रदेशबाट सिफारिस भएका बाहेक अन्य तरिकाले केन्द्रबाट सदस्यता झिक्ने र राख्ने काम नै गलत भएको बताइन ।

वास्तविक र क्रियाशील पत्रकारहरुलाई सदस्यताबाट बन्चित गराएर निर्वाचनमा जान नसक्ने भएकाले आन्दोलनमा जानुपरेको उनको भनाइ थियो ।

युनियन व्यक्तिमा केन्द्रीत छैन् । हामी विधि र कानुनलाई मान्छौं । क्रियाशील पत्रकारहरु बाहिर राखेर र सदस्य हुनबाट वञ्चित गराएर निर्वाचनमा जानै सक्दैनौं । हाम्रा मागहरु सुनिएन भने आक्रमक तरिकाले जान्छौं र माग पूरा नभएसम्म आन्दोलनमा हुनेछौं,’ उनले भनिन् ।

नेपाल प्रेस युनियनका मागहरू
–नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर ।
–पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर ।
–प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर ।
–नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर ।
–निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुंगाएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : ५९ बजे