काठमाडौँ– राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीलाई प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले ‘यूटर्न’ गराएका छन्।
बिहीबार बिहान राजीनामापत्र गोजीमा बोकेर प्रधानमन्त्रीसँग भेट गरेका रास्वपाका मन्त्रीहरू राजीनामापत्र नबुझाइकनै बालुवाटारबाट बाहिरिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फेस गर्ने योजना सुनाएकाले त्यसमा विश्वस्त भएर रास्वपाका मन्त्रीहरू राजीनामा पत्र नबुझाइकनै फर्किएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
‘राजीनामा बुझाउन गएका थियौं। सम्मानीय प्रधानमन्त्रीसँग कुरा गर्यौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले संवैधानिक अधकिारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो। हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं।’सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद (डीपी) अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।
बुधबार मध्यरातसम्म बसेको रास्वपा बैठकले तत्काल मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो। तर बिहीबार बिहानै प्रचण्डले रास्वपाका मन्त्रीहरुको मुड परिवर्तन गरिदिएका हुन्।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ।