काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन्। उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन्।
“विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्। गत असार ३० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
सोमबार देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा अघि पछिभन्दा बढी चहलपहल देखिएको थियो।
मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा९एमाले० बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरुलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड दिनभर जारी रह्यो। नयाँ मन्त्रीहरुलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढा–टाढाका जिल्लाबाट नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेको देखिन्थ्यो।
सोमबार मात्र पास लिएर जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रहेको छ। सार्वजनिक बिदाका दिनबाहेक अरु दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा आज दुई हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ।
दक्षिण प्रवेशद्वारमा प्रवेसीलाई पास उपलब्ध गराउन तोकिएका चारवटा झयालमा अपराह्नसम्म लाइन बस्नेको घुइँचो थियो। जिल्लाबाट बधाई ज्ञापनका लागि आएका नेता तथा कार्यकर्ताले आ–आफ्ना दलसँग सम्बन्धित मन्त्रीलाई प्राथमिकतामा राखेका थिए भने केहीले समूहमा सबै मन्त्रालय पुगेर शुभकामना दिएका थिए।
सिंहदरबारमा भीड हुन थालेपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिन भनेका हुन्।














