काठमाडौँ । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ।
गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।
१० दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ।
रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन्।
आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ।
बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए। अहिलेसम्म १७ जनाको शव फेला परेको छ। अन्य यात्रुको अवस्था अज्ञात छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १७ जनाको शव फेला परेका र बाँकीको खोजीकार्य जारी रहेको जानकारी दिए।
‘भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप विक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ’, उनले भने, ‘यसैगरी अन्य छ जना पुरुष र दुई महिलाको सनाखत हुन बाँकी छ।’
गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो।
एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए।बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।