कर्णाली प्रदेशका माओवादी मन्त्रीहरूले राजीनामा दिंदै



काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्रसँगै बुझाउने तयारी गरिएको माओवादीले जनाएको छ ।

केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।

४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद छन्। नेपाली कांग्रेसका हाल १४ जना सांसद छन्। कांग्रेसका १५ जना सांसद रहेकोमा संसदीय दल नेता जीवन शाहीलाई वाइडबडी काण्डमा भ्रष्टाचारको मुद्दा लागेपछि उनी निलम्बित छन्। प्रदेश सभामा माओवादीका १३, समाजवादीका १ र राप्रपाका १ जना सदस्य छन्।

नयाँ समीकरणमा पनि मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने र माओवादीले छोडेका मन्त्रालयहरू लिएर कङ्ग्रेस सरकारमा सहभागी हुने एमालेका सांसदहरू बताउँछन् ।

कर्णालीमा कांग्रेसले पनि अहिले नै सरकारको नेतृत्व आफूले पाउनु पर्ने अडान लिएको छैन ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ११ : १४ बजे