देशभर २२ जनामा हैजा देखियो,सजग रहन आग्रह



काठमाडौँ । देशभरमा २२ जना हैजाका बिरामी देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन आव्हान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरिएको छ।

डा। बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।

यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगडीमा पनि हैजा संक्रमित भेटिएका छन्। खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहेपनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्‍याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ।

भिब्रियो कोलेराु नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन्।

डा। बुढाथोकीका अनुसार हैजाको जिवाणुबाट संक्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको छ।

‘हैजा भनेको सामान्य झाडापखाला जस्तो होइन। तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मुत्युदर हुन्छ,’ उनले भने, ‘हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने तर उनीहरूको दिसामा संक्रमित भएको १० दिनसम्म हैजाको जिवाणु हुनसक्ने भएकाले त्यस्ता संक्रमितले अरुलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ।’

उनका अनुसार हैजा संक्रमितको दिसाले पानीको स्रोत प्रदुषित गरेको खण्डमा यसले ठूलो महामारीको रुप लिन सक्ने जोखिम रहेकाले मन्त्रालयले सजगता अपनाउन आग्रह गरेको हो।

डा। बुढाथोकीका अनुसार देशका अन्य स्थानबाट पनि हैजा संक्रमित भेटिएको खबर आएपनि त्यो र्‍यापिड किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा भिब्रियो कोलेरा नभेटिएको पनि बताए।

‘सबै झाडापखाला हैजा होइन। हैजा परीक्षण गर्नका लागि र्‍यापिड किट पनि पाइन्छ। तर त्यो भरपर्दो छैन। यकिन गर्नका लागि प्रयोगशालामा कल्चर नै गरेर हेर्नुपर्छ,’ उनले भने ।

हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनु पर्छ। यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन।

पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका साहयताले निर्मलिकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ। यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खानाखानु अघि अनिवार्य रूपमा साबुन पानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : १८ बजे