देशभर २२ जनामा देखिएको हैजा कति घातक, कसरी बच्ने ?



काठमाडौँ । देशभरमा २२ जना हैजाका बिरामी देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन आव्हान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरिएको छ।

डा। बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।

यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगडीमा पनि हैजा संक्रमित भेटिएका छन्। खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहेपनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्‍याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ।

भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन्।

के हो हैजा?

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ।

सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।

सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा। पुनको भनाइ छ।

उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।

हैजाका लक्षणहरू के(के हुन्?

हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ।

“चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि बग्छन्,” डा। पुन भन्छन्।

त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने उनले बताए।

अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने उनको भनाइ छ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।

“ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ,” डा। पुनले भने।

अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

कति घातक?

हैजाको कारण सङ्क्रमितलाई पीडा नहुने भए पनि यसको सङ्क्रमण जोखिमपूर्ण भएको डा। पुनको भनाइ छ।

उनका अनुसार अन्तर्राष्ट्रिय रूपमै हैजाका १० जना बिरामीमध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुने तथ्याङ्क छ।

डा। पुन भन्छन्, “कडा किसिमको रोग लागेका व्यक्तिले समयमै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुन्छ।”

उपचार अभावमा मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म रहने बताइन्छ।

वर्षा याम लागेपछि नेपालका विभिन्न क्षेत्रमा हैजाका बिरामीहरू बर्सेनि देखिने गर्छन्।

तीमध्ये केहीको मृत्युसमेत हुने विवरणहरू सार्वजनिक भएका छन्। उनीहरूको मृत्युको प्रमुख कारण देशको भौगोलिक विकटता र विकट क्षेत्रका मानिसहरूले भोग्नु पर्ने उपचार अभाव भएको डा। पुन बताउँछन्।

“गत वर्ष कपिलवस्तुमा हैजाको कारण सयौँ मानिस प्रभावित भए र केहीको मृत्यु भयो। मृत्यु हुनेमा प्राय समयमा उपचार नपाउनेहरू थिए,” उनले भने।

बिरामीले झाडापखालालाई सामान्य ठानेर घरमै उपचार विधि नअपनाउँदा समस्या जटिल बन्न सक्ने उनले बताए।

कसरी लाग्छ हैजा?

पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ।

व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने उनको बुझाइ छ।

“यदि काठमाण्डूमा उपचाररत बिरामीहरूलाई हैजा नै भएको रहेछ भने यो बिस्तारै फैलँदै छ। किनकि त्यहीँ पानी वा खाद्यान्न अरूले पनि खाएका छन्,” डा। पुनले भने।

त्यस्तै काठमाडौँमा केही दिनदेखि थुप्रिएका फोहोरले समेत भूमिका खेलेको हुनसक्ने उनको भनाइ छ।

“पुष्टि भएको कुरा होइन तर फोहोर रोग फैलाउने एउटा माध्यम हो। काठमाण्डूमा त्यसको पनि असर परेको हुनसक्ने सम्भावना छ,” उनले भने।

उपचारका उपाय कस्तारु

हैजाको जीवाणु फैलिनुअघि नै यसविरुद्ध खोप लगाउनु उपयुक्त उपाय हुने डा। पुन बताउँछन्। उनले विशेषगरी विकट क्षेत्रका मानिसहरूसम्म त्यस्ता खोप पुर्‍याउनु अत्यावश्यक देखेका छन्।

“जहाँ स्वास्थ्य सेवा प्रभावकारी छैन, त्यहाँ रोग लाग्नै नदिनु उचित हुन्छ,” उनले भने।

छ नेपालमा हैजाको खोप?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दास नेपालमा हैजाविरुद्ध खोपको उपलब्धता सहज नभएको स्वीकार्छन्।

उनका अनुसार अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त खोप हाल कपिलवस्तुका मानिसहरूलाई उपलब्ध गराइएको छ।

“हैजाको खोप खरिद र भण्डारण अरू खोपको जस्तो सहज छैन। त्यसैले यो राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरिएको छैन। त्यसको जोखिम कम गर्न हामी काम गरिरहेका छौँ,” डा। दासले भने।

हैजा भइसकेको अवस्थामा पुनर्जलीय झोल अर्थात् जीवनजललाई प्राथमिक उपचार उपाय मानिन्छ।

त्यसबाहेक जटिल अवस्थामा रहेका बिरामीलाई नसामार्फत सलाइन दिइने डा। पुनले बताए।

कुनै अवस्थामा बिरामीको शरीरमा रोगको अवधि कम गर्नका निम्ति एन्टिबायोटिक प्रयोग गरिने उनको भनाइ छ।

“त्यसबाहेक स्वच्छ पानी पिउनु र सरसफाइमा ध्यान दिनु नै विकल्प हो।”

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ११ : ३८ बजे