पर्यटनमन्त्री पाण्डे पुगे हेलिकोप्टर दुर्घटनास्थल, हवाई सुरक्षाका लागि कठोर निर्णय लिन पछि नपर्ने दाबि



काठमाडौं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हेलिकप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् । आज ९बिहीबार० विहान नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका हुन् ।

हिजो नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

निरीक्षणका क्रममा दुर्घटना स्थलमा पुगेका मन्त्री पाण्डेसँग मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।

मन्त्री पाण्डेले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरिने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

हवाई सुरक्षाका विषयमा अधिकतम् लचकता अपनाउनेदेखि आवश्यक पर्दा कठोर निर्णय लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पछि नपर्ने उनले बताएका छन् ।

मन्त्री पाण्डेले हवाई सेवा प्रदायक कम्पनी तथा विमान चालकलाई हवाई सुरक्षाका लागि अपनाउनु पर्ने वा पालना गर्नु पर्ने विषयलाई पुनः गम्भीरतापूर्वक समीक्षा गर्न र हवाई सुरक्षाका विषयमा कुनै पनि सम्झौता नगर्न, आग्रह गरेका छन् ।

प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार  १ : १८ बजे