छानबिन समितिमा रबिले भने,गोरखा मिडियाले लिएको ऋणको जिम्मा लिन्न



काठमाडौँ । सहकारी गठीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा इन्कारी बयान दिएका छन्।

गोरखा मिडिया प्रालि (ग्यालेक्सी फोरके टीभी)का तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले शुक्रबार संसदीय समितिमा उपस्थित भएर इन्कारी बयान दिएका हुन्।

आफू गोरखा मिडियाको प्रबन्धन निर्देशक भएपनि गोरखा मिडियाले लिएको ऋणको जिम्मेवारी आफूले नलिने उनको बयान थियो।

लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको दाबीलाई दोहोर्‍याए। तर रविको नामममा बुटवलको सुप्रिम सहकारीबाट ऋण प्रवाह भएको सार्वजनिक भइसकेको छ। समितिले लामिछानेलाई बयानका लागि दर्जनौं प्रश्न तयार पारेको थियो।

यसअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन्। उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ।

जोशीले सहकारीबाट मिडियामा भएको लगानीबारे आफूलाई जानकारी नभएको बयान दिएका छन्। जोशीले मिडियामा भएको लगानीका विषयमा जीबी राई र रवि लामिछानेलाई जानकारी हुने बताएका थिए।

प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार  ६ : १० बजे