पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाइँदै



काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ।

अपहरण तथा हत्यासम्बन्धी मुद्दामा सर्वोच्चले फैसलाको तयारी गरेको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासमा अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको पेसी तोकिएको छ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गरेको अभियोग छ। सापकोटाविरुद्ध कनकमणि दीक्षित,अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले दायर गरेको रिटमाथि‍ फैसला आउन लागेको हो।

सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो। अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए। उक्त मुद्दालाई तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा पठाएको थियो। संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन्।

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना प्रधान मलल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासबाट निर्णय सुनाइने गरी आज पेसीमा राखिएको छ।

प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार  १२ : ४० बजे