युइएफए नेसन्स लिग,जर्मनीको एकतर्फी जित



काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जितत दर्ता गरेको हो ।

समूह ३ मा रहेको जर्मनीको जितमा निकलस फुलक्रग, जमाल मुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए ।२७ औं मिनेटमा जमाल मुसिएलाको क्रसपासमा निकलस फुलक्रगले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु ४ गोल थपेको थियो । ५७ औं मिनेटमा विट्जको पासमा मुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औं मिनेटमा गरेको थियो ।

मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औं मिनेटमा मुसिएलाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।८१ औं मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए ।

यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार  ८ : ५७ बजे