सर्वदलीय बैठकको निर्णय : अवरुद्ध सडक खुलाइने, यात्रुलाई चाँडै गन्तब्यमा पुर्याइने



काठमाडौं । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोका कारण प्रभावित तथा घाइतेको तत्काल खोज तथा उद्धारमा जुट्ने निर्णय गरेको छ ।आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी पहिरोका कारण प्रभावित तथा घाइतेको तत्काल खोज तथा उद्धारमा जुट्ने निर्णय गरेको बताए । त्यसका साथै उनले आवागमन अवरुद्ध भएर बाटैमा फसेका यात्रुलाई यातायात व्यवसायी र प्रशासनको सहयोगमा गन्तव्यमा पु¥याउने, यातायात आवागमन सुचारु गर्ने, विद्युत् आपूर्ति, र टेलिफोन र खानेपानी सम्बन्धित मन्त्रालयले तत्काल सुचारु गर्न पहल गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

उनले भने, ‘अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी, अन्य राहत सामाग्री उपलव्ध गराउने निर्णय गरेको छ । वर्षका कारण गएको पहिरो र बाढीले आवागमान अवरुद्ध भैइ फसेका यात्रुहरुलाई सम्बन्धित जिल्ला प्रशासनको सहयोगमा र यातायातको संघ र सुरक्षाकर्मीको सयुक्त पहलमा गन्तव्यसम्म पुर्याइने निर्णय भएको छ ।’

यस्तै विनाशकारी बाढीका कारण महामारी उत्पन्न हुनसक्ने भन्दै न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले निरोधात्मक र आवश्यक जनशक्ति सहित औषधी उपचारको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

त्यस्तै बाढी पहिरोका कारण कृषिमा पुगेको क्षति सम्बन्धित मन्त्रालयले संकलन र घरवास गुमाएकाहरूका लागि आवासको प्रबन्ध सहरी विकास मन्त्रालय गर्ने निर्णय पनि गरेको छ । साथै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै उद्योग मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा खाद्यान्न, तरकारी ग्यासलगायतका बस्तु सुपथ मूल्यमा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : आश्विन १३, २०८१ आइतबार  ७ : १२ बजे