म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्डको स्तरोन्नतिको काम अझै सुस्त गतिमा छ। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक स्तरोन्नतिको काम सात वर्ष बित्दा पनि पूरा भएको छैन।
भारतको सिमाना त्रिवेणीबाट चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–जोमसोम सडकलाई दुई लेनको बनाइ कालोपत्र गर्ने जिम्मा संघीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले सन् २०१७ मा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।
योजना प्रमुख ध्रुवकुमार झाले मालढुङ्गाबाट जोमसोमसम्म ८९ किलोमिटर दूरीको सडक स्तरोन्नतिको लागि आठवटा खण्डमा ठेक्का सम्झौता गरिएको बताए। बेनी–गलेश्वर तीन किलोमिटर, गलेश्वर एक किलोमिटर, र कैकुखोला–खन्ती १२ किलोमिटर ५ सय मिटरमा कालोपत्रको कार्य पूरा भएको उनले सुनाए।
‘मालढुङ्गा–बेनी, गलेश्वर–तातोपानी, नागढुङ्गा–कैकुखोला र खन्ती–जोमसोम खण्डमा अझै कालोपत्रको कार्य पूरा भएको छैन,’ उनले भने। निर्माण व्यवसायीलाई समन्वय र चेतावनी दिएर काममा फर्काउन ताकेता गरे पनि निर्माणले गति लिन सकेको छैन।
निर्माण कम्पनीहरूले काम नगर्नु, मजदुर र उपकरणको अभाव, तथा सडकको अधिकार क्षेत्रभित्र रहेको घरटहरा भत्काउन ढिलाइ हुनु, शाखा सडकहरू अनियमित निर्माण हुनु, कमजोर भू–बनोट र बाढीपहिरोको समस्या प्रमुख अवरोधका रूपमा देखा परेका छन्। कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा सर्वोच्च अदालतले लगाएको रोकका कारण पनि आयोजनामा असर परेको सरोकारवालाहरूले बताएका छन्।
कुन खण्डमा कति प्रगति भएको छ ?
पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी जोड्ने १३ किलोमिटर सडकलाई ११ मिटर फराकिलो बनाएर कालोपत्र गर्ने ठेक्का सन् २०२१ मा रु ५२ करोड ८६ लाखमा लिइएको थियो। अहिले यो खण्डको भौतिक प्रगति ६२ प्रतिशत मात्र छ र ठेक्का अवधि समाप्त भएपछि निर्माण व्यवसायी जरिवानामा परेका छन्।
रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीसम्मको १९ किलोमिटर खण्डमा ९० प्रतिशत प्रगति भएको छ भने ९ किलोमिटरमा कालोपत्र गरिएको छ। यस्तै, शर्मा–गजुरमुखी जेभीले लिएको म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसासम्मको १७ किलोमिटर खण्डमा ९० प्रतिशत प्रगति भएको र थप आठ दशमलव पाँच किलोमिटरमा कालोपत्रको तयारी भइरहेको छ।
सकसपूर्ण यात्रा
सडक स्तरोन्नतिमा भएको ढिलाइले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ। बेनीका प्रकाश पौडेलले यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्ने, दुर्घटनाको जोखिम, र महँगो भाडाका कारण सास्ती झेल्नुपरेको बताए। उनले भने, “मुक्ति पाउन र प्रकृतिसँग रमाउन मुस्ताङको यात्रा गर्नेहरूलाई म्याग्दी खण्डको दुर्दशाले नराम्रो सन्देश प्रवाह गरेको छ।”
आठ वर्षमा ८४ प्रतिशत प्रगति
दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति कार्यमा ८४ प्रतिशत प्रगति भएको छ। १० अर्ब लागत अनुमान गरिएको यो सडकको काम निर्धारित समयभन्दा ढिलो भएकाले अब सन् २०२७ सम्म लम्ब्याइएको छ।
अधुरो सडक निर्माणलाई पूरा गर्न जनप्रतिनिधिहरू, निजी क्षेत्र र विभिन्न संघसंस्थाले दबाब सिर्जना गरेका छन्।










