विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयन्त्र किन आवश्यक परेको हो भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘सात बुँदे सहमतिअनुसार यो सरकार बनेको हो, आवश्यक विषयहरूमा छलफल गर्न दुई दलीय संयन्त्र बनाइएको हो। केही विषयमा समझदारी गर्नु परेमा संयन्त्रले काम गर्छ।’ संयन्त्रले सरकारलाई सफल बनाउन र प्रभावकारी बनाउन सहयोग गर्ने पनि उनले बताए ।
संविधान संशोधनका विषय पनि सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो ।
उनले कांग्रेस एमाले गठबन्धनको सरकार बनेपछि टिआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारवाही अघि बढेको बताए ।
त्यस्तै अहिले केही पनि भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै उनले ०४६ पछि विराटनगरमै भएको परिवर्तन हेर्न आग्रह गरे । उनले सरकारले नागरिकको चाहना पूरा गर्ने गरि काम गरिरहेको र परिणाम आउन केही समय लाग्ने पनि सिंहले बताए ।