रविलाई बुटवलबाट पोखरा फर्काइयो,स्वास्थ्य परीक्षण गरेर राखियो हिरासतमा



दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की फर्काइएको छ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि शुक्रबार कास्की लगिएको हो ।

बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भएपनि मौसम खराबीका कारण विमानस्थल खल्न नसक्दा दिउँसो पौने २ बजेमात्र कास्की उडेको रुपन्देही प्रहरीले जनाएको छ ।

गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।

विमानस्थलबाट सिधैँ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लगिएको हो।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालीमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०८१ शुक्रबार  २ : ४९ बजे