काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
उपनिर्वाचन कार्यतालिका बमोजिम मिति २०८१ कार्तिक ३० गते देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरेको आयोगले जनाएको छ ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम २०८१ मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने,मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। यस्तै मंसिर १६ गते विहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।
यसैबिच आयोगले सहसचिव नीता पोखरेल अर्याललाई नयाँ प्रवक्ता तोकेको छ । अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएका शुक्रबार एक विज्ञप्ति जारी गर्दैे आयोगले जनाएको छ ।
‘मिति २०८१/०७/३० को निर्णयानुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोखरेल अर्याल तोकिनु भएको व्यहोरा जानकारी गराइएको छ,’सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।










