काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीको डिजाइन गरिएको छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रमक अवतारको सिंहको टाउको प्रतीक रहेको छ ।
भगवान बुद्धको जन्मस्थानको रुपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरू मध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए ।
जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले भनिन्, ‘आज हामो लुम्बिनी लायन्सको जर्सी औपचारिक रुपमा लोकार्पण भएको छ, यसमा मलाई एकदमै खुशी लागेको छ । जसरी संसार भरका सबै मानिसहरुको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसै गरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछ्ु ।’
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले भने, ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रुपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरुलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ । लगाव, समुहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट – यी कुराहरुले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रुपमा पनि यी गुणहरु अति आवश्यक लाग्छन् ।














