सरकारले मनपरी रुपमा कर लिएको भन्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । आम जनता पार्टी काठमाडौं उपत्यका विशेष कमिटिले सरकारले मनपरी रुपमा कर लिएको भन्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले मनपरी कर आतंक बन्द गर्न माग गरे ।

शनिबार काठमाडौंको शान्तिवाटिकामा कर आतंक बन्द गर, जनताले तिरेको कर कहाँ छ ? भन्ने नाराका साथ प्रदर्शन गरेका हुन् । सोही क्रममा आम जनता पार्टीको केन्द्रीय सचिव देवी पण्डितले सरकारको करका कारण व्यापारीहरु धरासाही अवस्थामा पुगेको भन्दै यसलाई रोक्नको लागि आवाज उठाएको बताइन्।

उनले भनिन्, ‘आजको कार्यक्रमको मुख्य उद्देश्य भनेको व्यापार व्यवसायमा लगाइएको ‘अनावश्यक कर घटाउ, अर्थतन्त्र बचाउ’ भन्ने हो । व्यापार व्यवसायमाथि तीनै तहको सरकार मिलेर कर लगाइरहँदा व्यापारीहरु धरासायी अवस्थामा पुगेका छन् । त्यसैले पार्टीले कर विरुद्ध अथवा यसलाई रोक्नको लागि आवाज उठाएका हौं ।’

यस्तै, उनले व्यापार गर्नको लागि सहज वातावरण निर्माण होस र करको कारणले व्यवसाय छोडेर विदेश जान नपरोस भनेर यो आन्दोलन गरेको भन्दै यस्ता कार्यक्रमहरु पार्टीले अगाडिदेखि नै गर्दै आएको बताइन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ३ : ४३ बजे