रास्वपालाई प्रधानमन्त्रीको प्रश्न- आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?



काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका साथै मेडिकल व्यवसायी दुर्गा प्रसाईँंमाथि खनिएका छन्।

उनीहरूतर्फ लक्षित गर्दै उनले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिए।

गाली गर्ने, मुख छाड्ने अनि अपशब्द बोल्ने कुरा सरकारलाई सह्य नहुने बताए। उनले रास्वपाका सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘आफै सहकारी ठगी गर्ने अरुलाई मुख छाड्ने ? गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार र ठगी सह्य हुनेछैन। मानवतस्करी सह्य हुनेछैन। अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन कारबाही गर्छ।’

आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त पारेर अघि बढिरहेको भन्दै समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई नछोड्ने उनले चेतावनी समेत दिए।

‘हामी सुन्छौँ कहिले बैंकको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ। बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ?’, दुर्गा प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालव्याल, अस्तव्यस्त र ध्वस्त बनाउन।’

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि पनि ओली खनिए। ‘उद्यमी, व्यवसायी र मारवाडीहरूलाई खेद भनेर अभियान चल्छ’, उनले भने, ‘केही उद्योग चलिरहेका छन् भने उद्योगको लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ–विद्युत् महसुल आयोगले जे भनेको छ टिओडीअनुसार बक्यौता उठाऊ।’

उनले त्यसरी बक्यौता नउठाउने अनि विद्युत् लाइन काटेर उद्योग बन्द गर्ने कुरा स्वीकार्य नहुने बताए।

‘उद्योगको लाइन काटेर मजदुरहरु बेरोजगार बनाउने षड्यन्त्र भइरहेका छन्’, उनले भने, ‘समुदायमा विद्वेष खलबल्याउने काम भइरहेको छ।’

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : ५१ बजे