प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक वहस नहुनु दुःखद : मन्त्री पाण्डे



काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो वहस गर्ने ठाउँमा पनि विमर्शको संस्कृति कम हुन थालेको गुनासो गरेका छन् ।

आइतबार साहित्यमा नारीवाद : नयाँ दृष्टिकोणको खोजी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कहिलेकाहीं स्वार्थी पत्रहरुका कारण वास्तविक भावनाहरु छोपिने भन्दै विमर्शहरुले स्वार्थको पत्र उक्काएर मानवताको वास्तबिकता के हो भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘कहिले काँही हामी स्वार्थका पत्रहरुले छोपिन्छौं । वास्तविक भावनाहरु छोपिन्छन् । त्यसकारणले यस्ता विमर्शहरुले ती स्वार्थको पत्र उक्काउनुपर्छ र उक्काएर मानवताको वास्तबिकता के हो भन्ने कुराको खोजी गर्नुपर्छ । यस्तो बहस कम भएको देख्छु । नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा यस्ता वहस अगाडि बढाउनुपर्छ । हामीसँग विभिन्न अनुसन्धान केन्द्रहरु छन्, पुस्तकालयहरु छन् । यी ठाउँमा यस्ता विमर्श हुनुपर्छ तर यस्तो संस्कार घटेको देख्छु ।’

उनले राजनीतिमा महिला नेतृत्वको कुरामा केही फड्को मारेको भएतापनि त्यसलाई परिणाममूखी बनाउनका लागि समाजका अरु क्षेत्रहरु जागरित हुनुपर्ने धारणा राखे ।

मन्त्री पाण्डेले साहित्यमा नारीवाद भनेको समाज कै निम्ति खोजिएको र विभिन्न समूह, वर्ग भित्रको एउटा न्याय खोजेका बताए । नारीवादको सन्दर्भमा नयाँ दृष्टिकोण बनाउन जरुरी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ४५ बजे