प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक (तस्बिरहरु)



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।

काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदलाई नयाँ अध्यायमा लैजानका लागि सरकारले गरिरहेको सहयोगको लागि धन्यवाद दिए ।

सिद्धार्थ बैंक एनपीएलको ट्रफी आफैंमा विशेष रहेको बताउँदै प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाउने बताए ।

ट्रफीमा सर्वोच्च शिखर सगरमाथाको काख कालापत्थरबाट ल्याएको ढुंगा प्रयोग गरिएको छ । यसमा निकुञ्ज, बन, जंगलको पनि समिश्रण रहेको छ । उक्त पत्थर पर्वतारोही निमा शेर्पा र मिंङमा तेन्जी शेर्पाले ल्याएका थिए ।

ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको बताए । ऐतिहासिक र गौरवपूर्ण धरहराको काखमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण गर्दा खेलकुदमा नयाँ जाँगर भरेको पनि बताए ।

उनले नेपाली क्रिकेट इतिहासको विशाल एवं उमंगमय पर्व एनपीएल भएको पनि बताए । ‘अहिलेको पुस्ताले नेपाली खेलाडीहरुको मेहनत र सफलतालाई अंगालेका छन् । क्रिकेट नेपाली युवा पुस्ताको सपना र गौरवको रुपमा रहेको छ । यो खेलमात्रै नभएर अनुशासनको मानक पनि हो,’ उनले भने । त्यस्तै आयरल्याण्डका खेलाडीलाई आशिफ शेखले रन आउट नगरेर स्पोर्टस म्यानसिपको उत्कृष्ट नमुनाको भिडियोका बारेमा चर्चा गरे ।

यसैगरी करण केसीको भ्यालेन्टाइन ब्वाए नामको बारेमा पनि चर्चा गरे । यसैगरी कुशल भुर्तेल बलर कि ब्याटर भनेर प्रश्न गर्दै शतक प्रहार गर्न आग्रह गरे ।

चितवन राइनोजका विषयमा ओलीले चितवन गैडाज भनेर सम्बोधन गरे । चितवन गैंडाजका कुशल मल्लको पनि आगामी दिनमा थप चर्चा हुने विश्वास गरे ।

लुम्बिनीका कप्तान रोहित पौडेलको नाम सुन्दा नै आफूलाई गर्व लाग्ने बताए । उनलाई जसले जिते पनि देशले जितेको महसुस हुने बताए ।

विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्राण्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे ।

कर्णाली याक्सका सोमपाल कामीको योर्करबारे पनि चर्चा गर्दै सफलताको शुभकामना दिए । यसैगरी कर्णाली याक्सले भारतका गब्बर (शिखर) धवनको आगमनले झनै उमंग थपेको बताए ।

सुदूरपश्चिमका दीपेन्द्रसिंहको बारेमा प्रशंसा गर्दै उनका कीर्तिमानहरुबारेमा चर्चा गरे । देशको प्रधानमन्त्री भएकाले आठवटै टिमको समर्थन र सद्भाव रहने बताए ।

पहिला सबैलाई शुभकामना दिने तर जितेपछि बधाई दिन्छु । यसैगरी क्यानलाई महिला फ्रेन्चाइज क्रिकेट पनि आयोजना गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले देश विदेशमा एनपीएलको चर्चा र परिचर्चा भएको प्रति खुसी व्यक्त गरे । एनपीएल अब आर्थिक, खेल पर्यटनको उद्योगको रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले पूराना मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्नका लागि एनपीएल सफल हुनेमा विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि राखेपले सदा साथ दिने पनि प्रतिवद्धता जनाए ।

एनपीएलमा ८ टिमले सहभागिता जनाएका छन् । समरोहमा प्रधानमन्त्री ओलीका साथै, युवा तथा खेलकुदमन्त्री चौधरी, राखेप सदस्य सचिव घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत खेल पदाधिकारी र खेलाडीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १० : ५८ बजे