रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसहित २० जना नेताविरुद्ध दायर भएको अदालतको अपहेलना मुद्दामा सर्वोच्चले प्रमाण पेश गर्न आदेश दिएको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रमाणका फाइल र अन्य विवरण मगाउने आदेश दिएको हो।

अधिवक्ता अनुमप भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसहित २० जना नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दवाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

रिट निवेदनमा रास्वपाका उपसभापतिद्धय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित बागमती प्रदेश सभापति डा।अच्युतम लामिछाने, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, असिम शाह र गणेश पराजुलीलगातलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, सांसदहरु चन्दा कार्की, निशा डागी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाल पनि सो मुद्दामा प्रतिवादी छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ७ : ५३ बजे