काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तामा एक पटक खबर पठाउने गरेको बताएका छन् ।बिहीबार कीर्तिपुरको उपनिर्वाचनमा खको अन्तिम सभामा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘ नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ– लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर ।’
तर, कांग्रेसले देशमा राजनीतिक स्थिरता चाहेकाले ०८४ सम्म एमालेसँगकै गठबन्धनमा रहने उनले बताए । ‘आज केपी ओलीसँग हामीसँगै सरकारमा छौं । हामी इमानदारितापूर्वक यो सरकारलाई लिएर जान चाहन्छौं । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौं । हामी परिणाम दिन चाहन्छौं,’– उनले भने ।
साथै, उनले पार्टीका उम्मेदवार कृष्णमान डङ्गोललाई अत्याधिक बहुमतले कीर्तिपुरको मेयरमा विजयी गराउन पनि अपिल गरे ।
उनले केही राजनीतिक दलहरुले मिसन ०८४ को अभियान चलाइरहेको बताउँदै उनले त्यसको कुनै औचित्य नरहेको दाबी गरे । महामन्त्री थापाले अरुले ०८४ को चिन्ता गरिरहँदा ८१, ८२ र ८३ को जिम्मा लिन कांग्रेस तयार रहेको बताए ।