बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सिलवालले नागरिकतामा पटक(पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो नौ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले उनीविरुद्द मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ गते जारी नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख थियो । २०६६ वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा जन्ममिति २०१६ कात्तिक २२ गते अख्तियारको विज्ञप्तिमा जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५(०४(१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरणमा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५(०४(१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा राप तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३(०४(१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोवाट शंका लागेर छानबिन हुँदा भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको जिकिर छ ।

प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार  ४ : ५३ बजे