काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्को पनि नभाँचेको आरोप लगाएका छन्।
मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन। तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि उहाँलाई धन्यवाद छ,’ प्रचण्डले भने।
चीनसँग सरकारले गरेको समझदारी र हस्ताक्षर पनि कुनै नयाँ नभएको उनको जिकिर छ। अघिल्लो साल आफू प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर ओलीले आफ्नो नाम प्रचार गरिरहेको जिकिर प्रचण्डको छ।
‘मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ। ती सबै गतसाल गरिएका सहमति समझदारी हुन्,’ उनले भने, ‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो। मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो।’