सरकारले सार्वजनिक गर्‍यो बीआरआई सम्झौता



काठमाडौँ । नेपाल–चीनबीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सार्वजनिक गरिएको छ।

गत साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौताको पूर्णपाठ परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको हो।

मंगलबार मन्त्रालयले मंगलबार अपराह्न वेबसाइटमा पूर्णपाठ नै राखेको छ।

ओली चीन भ्रमणमा रहेकै बेला अमेरिकाले सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपाल भ्रमणमा पठाउने निर्णय लिएको थियो।

ओली चीनबाट फर्किएलगत्तै लु नेपाल आएका थिए। नेपाल भ्रमणका क्रममा लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए।

ओलीसँग पनि लुले भेट्न चाहेका भएपनि ओली झापा गएर बसेकाले उनीसँग भेट हुन सकेको थिएन। लुले एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसँग भने भेट गरेका थिए।

लुले नेताहरूसँगको भेटमा बीआरआई सम्झौताको विषयमा पनि चासो राखेको बताइएको छ। लुको चासो सम्बोधन गर्नकै लागि भोलिपल्टै चीनसँग सम्झौता भएको दस्तावेज सरकारले सार्वजनिक गरेको हो।

चीन आफ्नो सरकारसँग भएका सम्झौता र समझदारी सार्वजनिक भएको देख्न चाहँदैन। तर उसको चाहनाविपरीत यो दस्तावेज सार्वजनिक भएको बताइएको छ।

बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ।

सम्झौता मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ५ : ०१ बजे