काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीसम्बन्धी आफूले सार्वजनिक गरेका ‘फेक डकुमेन्ट’ आफूले नबनाएको बयान दिएका छन्। ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको विषयमा त्यहाँ बस्ने नेपालीले आफूलाई बताएको र सोही आधारमा आफूले बोलेको मात्र उनको जिकिर छ। त्यहाँ बस्ने नेपालीले नै आफूलाई ह्वाटसएपमा कागजात पठाएकाले आफूले सोही आधारमा कागजात सार्वजनिक गरेको उनको आरोप छ।
‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए। खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए। त्यसो भए तपाईसँग के प्रमाण छ भनी उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए,’ प्रसाईंले बयानमा भनेका छन्, ‘त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन।’केन्द्रीय अनुसन्धान ब्युरोमा उनले यस्तो बयान दिएका हुन्।
आफूले सोही कुरा प्रष्ट पार्नका लागि पत्रकार सम्मेलन गरेको र भिडियो पनि बनाएको उनको जिकिर छ। ‘गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, न त हाम्रो देशका प्रधानमन्त्री ठूलो व्यापारी, न त ठूलो व्यवसायी, न त ठूलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनतासामु प्रष्ट पारौं भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेस मिट गरेँ,’ उनले बयानमा भनेका छन्।
प्रसाईंलाई साढे ७ वर्षसम्म कैदमा राख्न माग गर्दै अदालतमा मुद्दा भएको छ। बुधबार साइबर अपराध कसुरको आरोपमा उनीमाथि मुद्दा दर्ता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भक्तपुरको निवासबाट मंसिर ४ गते पक्राउ गरेको थियो।
उनीमाथि आपराधिक लाभ र संगठित अपराधमा पनि अनुसन्धान थालिएको छ। नेपालका उच्चस्तरीय व्यक्ति तथा व्यवसायीहरूलाई धम्क्याउन झापाका हरिचन्द्र फुयाललाई परिचालन गरेको आरोप पनि उनीमाथि छ। प्रसाईंकै निर्देशनमा फुयाँलले भारतमा बसेर विभिन्न व्यक्तिहरूलाई धम्की दिएको प्रहरीको अनुसन्धानले देखाएको बताइएको छ।
विभिन्न अपराधको आरोपमा हाल जेलमा रहेका भारतीय नागरिक लरेन्स बिस्नोईको नाम लिएर प्रसाईंले नेपाली व्यापारीहरूलाई धम्क्याएको आरोप पनि छ।