सहकारी ठगीमा जोडिएका जो कोहिलाइ पाता कसेर लगे हुन्छ : गगन थापा



मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा जोडिएका कांग्रेसका पदाधिकारी वा कुनै नेता भए पाता कसेर लैजान आग्रह गरेका छन्।

यो कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बैठकहरूमा तथा सार्वजनिक रूपमा पनि भनेको थापाको भनाइ छ।

ललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि अनुसन्धान नभएको टिप्पणी भइरहेका बेला थापाले यस्तो बताएका हुन्। यद्यपि थापाले कुनै नेताको नाम भने लिएनन्।

‘यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू,’ मकवानमा मंगलबार आयोजित कार्यक्रममा महामन्त्री थापाले भने, ‘पाता कसेर लगेका व्यक्तिको समर्थनमा झन्डा लिएर बाहिर नआउनुस्। जसले गल्ती गरेको छ उसले सजाय पाउँछ। विधिको शासन यही हो।’

उनले भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु टी(इस्टेट वा क्यान्टोनमेन्टलगायतका काण्डका फाइल खोल्नुपर्ने पनि बताए। ‘जो जसले गल्ती गरेका छन्, एक जनालाई पनि छुट नदिऔं, यो आँट गरौं,’ थापाले भने।

जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन्। नेपाली जनतामा प्रगतिको भोक रहेकोले त्यसलाई कांग्रेसले सम्बोधन गर्नुपर्ने उल्लेख गरे।

‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ। त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ। पुराना कुरामा अड्किएर बस्ने होइन। नेपाली समाज उकुसमुकुस छ। त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ।’

प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार  ७ : ०८ बजे