काठमाडौं । काठमाडौं–५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरका हुन् ।
हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी शुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए ।
‘करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ । ’बुढानिलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम शुरु भएको छ ।
हाल बुढानिलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट शुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रुपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गरेका थिए ।शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी थिए । उनीहरुले विकास निर्माणका लागि तीन वटै तहबीच समन्वय र सहभागीता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
बुढानिलकण्ठ ४ का वडाध्यक्ष श्रीराम केसीले बुढानिलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवं स्वास्थ्य मन्त्री पौडेलले सहयोग गरेको बताए । करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि शुरु हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए ।