तराईमा लगातार शीतलहर : सर्वसाधारणलाई बचाउन छैन पर्याप्त तयारी



काठमाडौँ – यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ। लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन।

शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएका सरकारी तथ्याङ्क छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ ९११ वर्ष० मा एक सय १६ जनाले ज्यान गुमाएका हुन्।

प्राधिकरणको तथ्यांकअनुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन्। सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक–एक जना गरी एक सय १६ जनाको मृत्यु भएको छ।

प्राधिकरणको तथ्यांकअनुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो। यसैगरी २०७४ सालमा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। २०६८ र २०७४ सालबाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

शीतलहरको जोखिम भएका क्षेत्रमा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम जस्तै बाक्लो लुगा, कम्बल वितरण प्रभावकारी गर्न नसक्नु, पूर्वतयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधरणलाई बचाउन पर्याप्त तयारी नहुँदा कयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ।

पछिल्लो समय भने शीतलहरकै कारण मृत्यु भए पनि पुष्टि गर्न झन्झटिलो बनेको छ। अब भने कुनै अस्पताललले शीतलहरकै कारण मानिसको मृत्यु भएको हो भन्ने कुनै अस्पतालको डाक्टरबाट नै पुष्टि हुनुपर्ने बताउँछन् प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराई।

‘पछिल्ला वर्षहरूमा शीतलहरका कारण मृत्यु भएको तथ्याङ्क छैन, अबचाहिँ डाक्टरले नै शीतलहरका कारण मृत्यु भएको हो भनेर पुष्टि गरेमा मात्रै तथ्याङ्क रहने भयो’, उनले भने, ‘शीतलहरकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न गाह्रो भएपछि चिकित्सकले नै पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको हो। नत्र चिसोमा अन्य कारण पनि मृत्यु हुन्छ। निमोनिया, हृदयघात तथा अन्य रोगका कारण पनि मृत्यु हुनसक्छ।’

उनका अनुसार शीतलरमा न्यायो कपडा वितरण गर्नेजस्ता पूर्वतयरीको जिम्मा स्थानीय तहलाइ दिइएको छ। स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने भट्टराईको भनाइ छ। तराईमा शीतलहरको अवस्था आएमा सूचना प्रवाह गरिने बताउँछिन्, जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : ५३ बजे