तरकारी खेतीमा रमाएका वडाध्यक्ष, अरू किसानभन्दा कम छैनन्



कञ्चनपुर – शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन्। साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन्।

उनले तीन वर्षदेखि निरन्तर यस्तै गर्दै आउनुभएको छ। दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ। तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउँछन्।

चौधरी तरकारीखेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन्। त्यही भएर उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन्।

बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउँछन्। उनकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाउँछिन्। वर्षमा वडाध्यक्षले रू पाँच लाखजत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन्। १० कठ्ठा जग्गामा उनले तरकारी खेती गरेका छन्।

काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्यूसिमी, भान्टा, आलुलगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन्।

‘काउली मात्र बेचेर रू ५० हजार जतिको आम्दानी भएको छ’, अध्यक्ष चौधरीले भने, ‘पहिलोपटक लगाएको काउली बेचिसक्यौँ, दोस्रोपटक लगाएको काउली आउँदो महिना बेच्न ठिक हुन्छ।’ काउलीबाहेकको अन्य तरकारी रू २० हजार जतिको बेचेको उनी बताउँछन्।

‘बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्’, अध्यक्षकी श्रीमती सावित्रीले भनिन्, ‘आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौँ।’ यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी रू एक लाख आम्दानी हात पार्न सफल भएका थिए। तरकारीखेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाई खर्च व्यहोर्दै आएका छन्। नगरपालिकाबाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने वडाध्यक्षक चौधरी बताउँछन्।

‘आर्थिक सहयोग माग्नेलाई दिनैपर्‍यो’, उनले भने, ‘भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैपर्‍यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाइनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगरबाट उपलब्ध हुने पारिश्रमिकले भ्याउन निकै गाह्रो हुन्छ।’

‘जनप्रतिनि हुँ भनेर हात हल्लउँदै हिँड्नु पनि परेन, वडाध्यक्षले परिश्रम गरेको देखेर अरूले पनि गर्छन्, काम गर्ने प्रवृत्ति हामीले नै बसाल्नुपर्छ, आर्थिक रूपमा वडावासी समृद्ध बने मात्र विकासले फड्को मार्ने न हो’, उनी भन्छन्।

बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्छन्। गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्नुहुन्छ। परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उनीलाई चिन्ने गर्छन्। विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रोपटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउँछन्।

‘वडाध्यक्ष भए पनि तरकारीखेती गर्छन्, गाउँका अरू किसानभन्दा तरकारी फलाउनमा पछाडि छैनन्’, उनले भने, ‘नगरपालिका र वडाबाट पनि किसानलाई पहिलो स्थानमा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्छन्, किसानलाई कुन किसिमको तालिम चाहिन्छ, मागअनुसारको तालिम चलाउँछन्।’

वडाअध्यक्षकै प्रयासमा व्यावसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्नका लागि पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिका हाइटेक टनेल, सिँचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उनी बताउँछन्।

उन्नत जातको बीउबिजनको प्रयोगलाई बढावा दिने कार्यसँगै खेतीगर्ने तौर तरिका सिकाउनका लागि किसानलाई जानकारी गराउन प्राविधिक परिचालनको कार्य वडा अध्यक्षकै प्रयासमा हुने गरेको उनी बताउँछन्।

वडाअध्यक्ष हुनुअघि नरेन्द्रले गाउँको वरघर बनेर नेतृत्व गरेका थिए। गाउँको न्याय निसाफ छिन्ने, अंशवण्डा गर्ने, संस्कृति जोगाउने, विकास निर्माणको अगुवाई गर्ने कार्य थारू समुदायमा वरघरले गर्ने गर्दछ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : ३० बजे