रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश



२ माघ, काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंले यस्तो आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : २८ बजे