वीरगञ्ज – जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो।
दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चर्केपछि नेपाल पुलिस च्याम्पियन बनेको हो। आर्मीलाई पुलिसले २८ रनले हराएको हो।
वीरगञ्जमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९।२ ओभरमा ७४ रन बनाउँदै अल आउट भयो। पुलिसका दुई स्पिनर सागर र ललितले आर्मी टोलीलाई अलआउट गरे। सागरले ६ र ललितले ४ विकेट लिए।
प्लेयर अफ दि म्याच भएका सागरले १४।२ ओभरमा १ मेडनसहित ३५ रन खर्चे। ललितले १५ ओभरमा २ मेडन राख्दै ३९ रन दिए।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे। कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए। आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसले दोस्रो इनिङमा १ सय ३९ रन मात्र जोड्न सक्यो। पुलिसका लागि दोस्रो इनिङमा कुशल भुर्तेलले सर्वाधिक ४५ रन जोडे।
पहिलो विकेटका लागि ओपनर कुशल र अमित श्रेष्ठले ५१ रनको साझेदारी गर्दै फराकिलो अग्रताको संकेत गरेका थिए। अमित १३ रन जोडे। दीलिप नाथ ३४ तथा राशिद खान १८ रन बनाए।
पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीका लागि बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए। आर्मीले पहिलो इनिङमा १ सय ७० रन बनाउँद ३७ रनको सामान्य अग्रता लिएको थियो।
आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन जोडे। उनले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमद ४०, सोमपाल कामी ३२ तथा कप्तान विनोद भण्डारी १४ रन बनाए।
पुलिसका लागि सागर ढकालले १५।५ ओभरमा ७८ रन खर्चिएर ५ विकेट लिए। कुशल भुर्तेलले ३ तथा ललित र गुलशन झाले समान १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन जोडे। उनले ५६ बलमा ६ चौका प्रहार गरे। अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र राशिद खानले १० रन बनाए।
आर्मीका साहब आलमले १२।४ ओभरमा ३७ रन खर्चिएर ७ विकेट लिएका थिए। सोमपाल र बसिर अहमदले समान १ विकेट लिएका थिए।
पहिलो संस्करणको यस प्रतियोगितामा पिएम कप पुरुष क्रिकेटका शीर्ष ४ टोली९नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश० को सहभागिता रहेको थियो।














