काठमाडौँ । कांग्रेस पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ ।
आज सभापति देउवाको निवास बूढानीलकण्ठमा १० मन्त्री र दुई राज्यमन्त्रीको सामूहिक ब्रिफिङ लिएपछि सभापति देउवाले मन्त्रीहरूलाई काममा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
‘हप्तामा दुई दिन खुल्ला भेटघाट गर्ने, पार्टी अफिसमा गएर कार्यकर्तासँग भेटघाट गर्ने र नागरिकको गुनासो सुन्न निर्देशन दिएका छौँ‚’ उनले भने ।
मन्त्रीहरुसँगको छलफलको क्रममा सभापति देउवाले मन्त्रीहरुको कार्यसम्पादन पार्टीको भविष्यसँग जोडिएको विषय भएकोले काम गरेर देखाउन र जनताको मन जित्न सुझाव दिएका छन् ।
मन्त्रीहरुलाई सुशासनको सवालमा निर्मम भएर प्रस्तुत हुनपनि उनले निर्देशन दिएका थिए । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार देउवाले भ्रष्टाचार गरेको थाहा पाए कोहीपनि मन्त्रीहरुलाई बाँकी नराख्ने चेतावनी दिएका थिए । सो क्रममा उनले अबको एक महिनाभित्रै कार्यसम्पादन रिपोर्ट आफूलाई बुझाउन पनि भनेका छन् ।
देउवाले अहिलेको सत्ता–सहकार्यमा एमालेसँग कुनै मतभेद नभएको भन्दै त्यहीअनुसार प्रस्तुत हुनपनि मन्त्रीहरुलाई भनेका छन् । उनको भनाई उद्धृत गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले भने,‘सभापतिज्यूले अहिले सरकारमा मतभेद छैन भनेर भन्नुभएको छ । उहाँले हामीलाई प्रधानमन्त्रीले भनेको मान्ने र प्रधानमन्त्रीलाई सहयोग गर्न भन्नुभएको छ ।’














