चितवनमा युवकमाथि लात्ती बर्साउने प्रहरी निलम्बित



भरतपुर । चितवनमा चेकिङका क्रममा युवकमाथि लात्ती बर्साउने प्रहरी निलम्बनमा परेका छन्।

भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने सहायक प्रहरी निरीक्षक (असई) बुद्धि बहादुर भुजेललाई निलम्बन गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिएका हुन्।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर त्यसमाथि पनि लात बर्साएका थिए।

घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। अधिकांशले प्रहरीको दमन भन्दै चर्को आलोचना गरेका थिए।

घटना बाहिरिएपछि जिल्ला प्रहरी कार्यालयले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  १२ : ५७ बजे