रवि लामिछानेविरुद्धको थुनछेक मुद्दा आज पनि सकिएन, आइतबार आदेश आउने



काठमाडौं रवि लामिछानेविरुद्धको जारी थुनछेक बहस शुक्रबार नसकिएपछि आइतबार पनि थुनछेक बहसले निरन्तरता पाउने भएको हो। आज अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस भएको थियो।

बुटवलको सुप्रिम सहकारी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मुद्दा ुहेर्दाहेर्दैुमा राखिएपछि आइतबार मात्रै थुनछेक बहस सकेर आदेश आउन सक्ने भएको हो ।

शुक्रबार ढिला गरि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएकोले लामिछानेको तर्फबाट बहस गर्दैगर्दा समय अभावका कारण नसकिएपछि आइतबार पुनः बहस हुने अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित अधिवक्ता डा। नारायण कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्नेछन् ।

आज रूपन्देही जिल्ला न्यायाधिवक्ता प्रेम पौडेल, सहन्यायाधिवक्ता गोकर्ण घिमिरेलगायतका सरकारी वकिलले बहस गरे भने सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। सहकारी पीडितका तर्फबाट समेत बहस सकिएको छ।

आज पनि श्रीमती र अधिवक्ताको रोहबरमा आइतबार हाजिर हुने गरी आदेश आएको श्रेष्तेदार ज्ञवालीले बताए।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : २५ बजे