जनकपुर । मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गरेका छन् ।मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेका छन् ।
उनीहरुले जनकपुरधाममा विशाल जुलुस निकालेर मुख्यमन्त्री कार्यालय जाने मुख्य सड़कमै मशाल जलाएर अभियानको सुरुवात गरेको घोषणा गरेका छन् ।जुलुसमा देशभरिबाट करिब पाचँहजार बढि मिटरब्यजी पिडित सहभागी भएको मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए । उनले मिटरब्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई देशव्यापी रुपमा लैजाने बताए ।
अध्यक्ष कुशवाहाले मिटरब्याजको विरूद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको गुनासो गरे । उनले राज्यको प्राथमिकतामा मिटरब्याज पीडितहरूको मुद्दा नरहेको र यस अभियान पश्चात पनि सरकारले ठोस कदम नउडाउ आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत दिए ।
उनले देशभर मिटरब्याज पीडितहरू शोषणमै रहेको र मिटरब्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम नदिएको आरोप लगाए । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको गुनासो गरेका छन् ।
यस अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पका साथ जागरुक पार्नु रहेको उनले बताए । यसले मिटरब्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।














