काठमाडौँ । सत्तारुढ दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशनमा एक भएर प्रस्तुत हुने निर्णय गरेको छ । बैठकले सत्तारुढ दलहरू एक भएर बढीभन्दा बढी कानुन निर्माण गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने निर्णय भएको बताए । उनले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रूपमा लिएको बताए ।
उनले सरकारले जारी गरेका अध्यादेशले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको बताए । सत्तारुढ दलहरूमा कुनै समस्या नरहेको पनि उनले बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुुख सचेतसमेत सहभागी थिए ।














